संसद विघटनविरुद्ध संयुक्त आन्दोलन गर्नेबारे देउवासँग कुरा गरेँ: प्रचण्ड

होमल्याण्ड खबर

२०७७ फाल्गुन ४ गते, मंगलवार १०:३२ मा प्रकाशित

 

नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन विरुद्धकेही समयभित्रै संयुक्त आन्दोलन हुने बताएका छन् । त्यसकालागि कांग्रेससहितका दलहरुसँग छलफल जारी रहेको उनको भनाइ थियो ।

मंगलबार(आज) बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको जानकारी दिए ।

‘आन्दोलन भइराखेको छ। यसलाई सकेसम्म संयुक्त गरौं भन्ने प्रयास भइराखेकै छ । हिजो मैले शेरबहादुर देउवासँग कुरा गरेँ- यसलाई संयुक्त बनाऔं भनेर। रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु । जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ । केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ,’ उनले भने। संविधानलाई ट्याकमा ल्याउन आन्दोलन गर्नुपरेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे। असंवैधानिक काम गरेको उनको भनाइ छ । प्रचण्डले चुनाव नहुने र भयोभने त्यो असंवैधानिक हुने बताए । ‘चुनाव भयो भने त्यो असंवैधानिक र अलोकतान्त्रिक हुन्छ,’ उनले भने।