प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस सकियो, १० गतेभित्र बहस नोट पेश गर्न आदेश

होमल्याण्ड खबर

२०७७ फाल्गुन ७ गते, शुक्रबार १५:३२ मा प्रकाशित

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिका आज ( शुक्रबार) बहस सकिएको छ ।

एमिकस क्युरीका तर्फबाटवरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले आज अन्तिम राय पेश गरेपछि बहस सकिएको हो। योसँगै एमिकस क्युरीका तर्फबाट पाँच जनै अधिवक्ताहरूको बहस सकिएको हो।

बहस सकिएपछि संवैधानिक इजलासले फागुन १० गतेसम्म बहस नोट पेश गरिसक्न कानून व्यवसायीलाई आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अर्को इजलास ११ गते मंगलवार बस्ने गरी मुद्दालाई हेर्दाहेर्दैमा राखिएको बताए । यसअघि पक्ष र विपक्षका वकिलहरूले विघटन मुद्दामाथि बहस गरेका थिए।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा १३ वटा रिट  परेका छन्।

माघ ४ गतेदेखि उक्त रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा निरन्तर रुपमा बहस भइरहेको छ।