प्रदेश प्रमुख बर्खास्ती र नियुक्तिप्रति कांग्रेसको आपत्ति

होमल्याण्ड खबर

२०७७ फाल्गुन ७ गते, शुक्रबार १९:५६ मा प्रकाशित

सरकारको सिफारिसमा प्रदेश नम्बर २ को प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेसले विरोध र भत्सर्ना गरेको छ ।

अघिल्लो सरकारको पालामा प्रक्रियाअनुसार गरिएको नियुक्तिलाई गएको वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढङ्गले नियुक्ति गरेको बताउँदै  शुक्रवार फेरि त्यही प्रवृत्ति दोहोर्‍याएको कांग्रेसको जिकिर छ ।

‘सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने चुनाव घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधि सभा विघटनपछि कामचलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न नमिल्ने र नपाउने कांग्रेसले भनेको छ ।

साथै कांग्रेसले यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिएको छ ।

शुक्रवार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका राजेश झालाई प्रदेश २ का प्रमुखमा नियुक्त गरेकी थिइन् ।

यसअघि राष्ट्रपतिले प्रदेश २ का प्रमुख तिलक परियारलाई आजै  बर्खास्त गरेकी थिइन् ।