४ मंसिर २०८१, मंगलवार
प्रतिबन्धित पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा सरकारसँग वार्तामा आउने भएकाे छ । सरकारले विप्लव नेकपालाई वार्ताका लागि आह्वान गर्ने तयारी गरेको हाे ।
विप्लवले शनिबारमात्रै एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको बताएका थिए । लगत्तै सरकारको यस्तो धारणा आएको हो ।
सरकारले विप्लव समूहलाई औपचारिक रूपमा वार्ता आह्वानको तयारी गरेको वर्तमान सरकारमा रहेका एक मन्त्रीले जानकारी दिएका छन् । एक–दुई दिनभित्रै वार्ता–आह्वान गरिने उनले बताए ।
सरकारले पहिले वार्ताका लागि आह्वान गर्ने र त्यसपछि प्रतिबन्ध फुकुवाको तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि विप्लव समूह वार्तामा बस्न तयार भए आवश्यक वातावरण बनाउने बताएका छन् । उनले भने, ‘उहाँहरू शान्तिपूर्ण धारमा आउन चाहेमा सरकारले आवश्यक सबै वातावरण मिलाउँछ’ ।
सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता सरकारले विप्लव समूहमाथि धरपकड तीव्र बनाएको थियो । तर, पछिल्लो समय भने सरकारले विप्लव समूहसँग अनौपचारिक वार्ता–संवाद प्रक्रिया अघि बढाएको थियो ।
गएको माघ २० गते खानेपानीमन्त्री तथा नेकपा ओली समूहका स्थायी कमिटी सदस्य मणिचन्द्र थापा नख्खु जेलमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश ओली भेट्न पुगेका थिए । सरकारले विभिन्न माध्यमबाट वार्ताको प्रयास गरेपछि विप्लव समूहले पनि वार्तामा बस्न राजी भएको सन्देश पठाएको बुझिएको छ ।