प्रचण्ड–नेपाल समूहले आज देशभर विजय जुलुस निकाल्ने

होमल्याण्ड खबर

२०७७ फाल्गुन १२ गते, बुधबार ०८:५४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज देशभर विजय जुलुससहितको आमसभा गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको सो समूहले सर्वोच्च अदालतको संसद पुनस्थापनाको ऐतिहासिक फैसलाको स्वागत गर्दै देशभर विजय जुलुस निकाल्ने भएको हो ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेसँगै प्रचण्ड–नेपाल समूहले सबै जिल्ला सदरमुकाम र काठमाडौंको शान्ति वाटिकामा विजय जुलुुस निकाल्न लागेको हो ।

प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध चौथो चरण अन्तर्गत आजका लागि चितवनमा विरोधसभा गर्ने घोषणा गरेको थियो । तर सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि सो विरोधसभालाई विजय सभामा परिणत गरेको छ ।

विरोधसभाका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल मंगलबार नै चितवन पुगेका थिए ।