सर्वोच्चलाई प्रचण्डको जवाफ–अदालतको अवहेलना हुने केही बोलेको छैन

होमल्याण्ड खबर

२०७७ फाल्गुन १६ गते, आईतवार १२:२५ मा प्रकाशित

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा अपहेलना मुद्दाको लिखित जवाफ बुझाएका छन् ।

सर्वोच्चको आदेशअनुसार उनले आज (आइताबार) मध्याह्न आफैं अदालत पुगेर लिखित जवाफ दिएका हुन् ।

सर्वोच्चमा लिखित जवाफ पेश गर्दै प्रचण्डले आफूले अदालतको अवहेलना हुने केही पनि नबोलेको दाबी गरेका छन् ।

वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा नै निवेदन दायर गरेको उनको आरोप छ । प्रचण्डले आफूले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको बताएका छन्। उनले यसबाट अदालतको अवहेलना हुनै नसक्ने दाबीसमेत गरेका छन्।

पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समीर हायुले दर्ता गरेको मुद्दामा जवाफ दिँदै प्रचण्डले निवेदको दाबी झुटो भएको जिकिर गर्दै निवेदन खारेज गर्न माग गरेका छन् ।