म माथि शारीरिक हमला भयो भने अनौठो नमान्नुहोला : ओली

होमल्याण्ड खबर

२०७७ फाल्गुन १७ गते, सोमबार १५:०८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि चौतर्फी हमलाको प्रयाश भएको बताएका छन्। सोमबार गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ज्यान नै तलमाथि भएपनि अनौठो नमान्न आग्रह गरे।

‘सम्पूर्णरूपमा ममाथि प्रहार अत्यन्तै तीव्र गतिले केन्द्रित छ। ममाथि कुनै शारीरिक हमला नै भयो, मेरो ज्यान नै तल-माथि भयो भने पनि अनौठो नमान्नुहोला,’ प्रधानमन्त्री ओलीले भने, ‘तर त्यसो हुन दिइने छैन। हामी शतर्कता अपनाउनेछौं ।’

आफू सँधै लोकतन्त्रको पक्षमा लडिरहँने बताउँदै ओलीले अगाडि भने, ‘म रहिन भने पनि आन्दोलन रोकिन्न, पार्टीलाई तलमाथि पर्न दिन हुन्न, लोकतान्त्रिक आन्दोलन तलमाथि हुन दिइनु हुँदैन’। सरकारले राम्रो काम गरिरहेको भएपनि विरोधीहरुले हमला गरेको ओलीको आरोप छ।

‘यस पार्टीको नेतृत्वमा म भएको हुनाले, यस पार्टीलाई ठिक ढङ्गले अगाडि बढाइरहेको हुनाले, सरकार ठिक ढङ्गले चलाइरहेको हुनाले, सरकार गतिशील र प्रभावकारी रुपमा चलिरहेको हुनाले, विकास निर्माणमा कामहरुले गति लिइरहेको हुनाले म माथि प्रहार गरियो। सम्पूर्ण रुपमा म माथि अत्यन्तै तीव्र गतिले प्रहार गरियो,’ ओलीले भने। ओलीले दाहाल-नेपाल पक्षले आफूमाथि झुटा आरोप लगाएको पनि बताए।