४ मंसिर २०८१, मंगलवार
गत पुस ५ गते विघटनपछि निस्क्रिय भएको प्रतिनिधिसभा बैठक सञ्चालनको लागि भव्य तयारी भएकाे छ । सर्वोच्च अदालतको यही फागुन ११ गतेको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापित भएको छ ।
संविधानअनुसार प्रतिनिधिसभा बोलाउनैपर्ने बाध्यतात्मक अवधि छ महिना पुग्न १३ दिन बाँकी रहँदा प्रतिनिधिसभा विघटन भएकाले सर्वोच्चले १३ दिनभित्र संसद् बोलाउन आदेश दिएको थियो । त्यही आधारमा आइतबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरेकी छन् ।
संसद् आह्वानसँगै प्रतिनिधिसभा बैठक सञ्चालनको लागि गृहकार्य सुरु भएको हो । संसद् सचिवालयले बैठककक्षदेखि सभामुख, प्रधानमन्त्रीसहितका पदाधिकारीका कक्षहरुसमेत तयार पारेको छ ।
सचिवालयको तयारीपछि मंगलबार निरीक्षणका लागि पुगेका सभामुख अग्निप्रसाद सापकोटाले तयारी अन्तिम चरणमा पुगेका जानकारी दिए । उनले आफ्नो कार्यकक्षसमेत नयाँ स्वरुपमा तयार गरिएको भन्दै सचिवालयको कामप्रति खुसी व्यक्त गरे ।
प्रतिनिधिसभाको बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि डाकिएको छ ।