४ मंसिर २०८१, मंगलवार
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै विप्लवले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको दाबी गरे ।
उनले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाई समेत दिए । उनले सरकार, यसका जिम्मेवार नेतृत्वगण र वार्तालाई सफलतातर्फ अग्रसर गराउन विभिन्न तहबाट भूमिका निर्वाह गर्ने सञ्चारकर्मी, सुरक्षाकर्मी, मानव अधिकारकर्मीलगायत सबैलाई सम्मानसहित धन्यवाद ज्ञापन गरे ।
‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन,’ उनले भने, ‘केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’ उनका अनुसार यो सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छ । ‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना छ,’ उनले भने ।
उनले नेपालीको चाहना पूरा नभएको भन्दै आगामी दिनमा त्यसको बाटोमा अघि बढ्ने बताए ।
आफूहरु सहकार्य र हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।