अब नेपालमा हिंसात्मक कार्य समाप्त भएको छ: प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७७ फाल्गुन २१ गते, शुक्रबार १७:०३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा हिंसात्मक द्वन्द्व समाप्त भएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अब हिंसात्मक बाटो र हिंसात्मक कार्यदिशा कसैले अबलम्बन नगरेको बताए ।

‘आज एउटा ऐतिहासिक काम भएको छ। अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब नेपालमा हिंसात्मक द्वन्द्व छैन।’

‘अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक कार्यदिशा कसैले अवलम्बन गरेको छैन।’

आगामी दिनमा चन्द नेतृत्वको नेकपाले शान्तिपूर्ण ढङ्गले आफ्ना गतिविधि गर्ने बताउँदै प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्‍याएर उसका नेता तथा कार्यकर्तालाई छोडिने बताए ।

प्रधानमन्त्री ओलीले सरकार र नेकपाबीच रातारात सहमति नभएको उल्लेख गरे ।

‘रातारात होइन। वर्षौँदेखि वार्ता चलिरहेको थियो’ उनले भने ।