पुनःस्थापित प्रतिनिधिसभा बैठक आज बस्दै

होमल्याण्ड खबर

२०७७ फाल्गुन २३ गते, आईतवार ११:१२ मा प्रकाशित

सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित प्रतिनिधिसभाको हिउंदे अधिवेशन आजदेखि शुरु हुँदै छ । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते विघटन गरेको प्रतिनिधिसभालाई यही फागुन ११ गते सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि संसदको सातौँ अधिवेशन आज सुरु हुन लागेको हो । बैठक अपराह्न ४ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

तीब्र राजनीति विवाद र अन्योलका बीच आज बस्न लागेको प्रतिनिधिसभा बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

प्रतिनिधिसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा आज राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्षनेताले शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको छ । यसका साथै आजको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद सम्बन्धी र गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशलगायत पेश गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिनिधिसभा विघटन भएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ । नेकपाको दाहाल–नेपाल समूहले पार्टीको आधिकारिकता छिटो टुंगो लगाउन निर्वाचन आयोगलाई बारम्बार ताकेता गरे पनि आयोगले विवादको टुंगो लगाउन सकेको छैन ।

आफु नै आधिकारिक भएको दाबी गर्दै दुवै समुहले छुट्टा छुट्टै संसदीय दलको बैठक र सचेतक चयन गरिसकेका छन् । प्रतिनिधि सभामा प्राविधिक रुपमा नेकपाको दाहाल–नेपाल समुह सत्तारुढ बेञ्चमा बसेपनि सरकारको नेतृत्व गरिरहेको ओली समुहविरुद्ध छ । प्रतिनिधि सभा पूनस्थापान पछि नेकपाको दाहाल नेपाल समुह, नेपाली कांग्रेस र जसपाले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग गरेका छन् ।

तर प्रधानमन्त्री राजिनामा नदिने अडानमा रहेपछि उहांविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने रणनीतिमा दाहाल–नेपाल समुह देखिएको छ । अहिले प्रतिनिधि सभामा नेकपाका सभामुुखसहित १७३, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टी (जसपा) का ३२ सांसद छन् ।

नेकपाका सानु शिवाको निधनपछि एक पद रिक्त छ भने कांग्रेस र जसपाका दुई दुई सांसद अदालतको आदेशनुसार निलम्बनमा छन् । राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीका एक एक र एक जना स्वतन्त्र सांसद प्रतिनिधिसभामा छन् ।

सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै फागनु ११ गते १३ दिन भित्र बैठक बोलाउन समयसीमा तोके अनुसार आज अपरान्ह् चार बजे बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो । राष्ट्रियसभाको सातौँ अधिवेशन भने पुस १७ गते नै आह्वान भई केही दिन चलेपछि अन्त्य भएको थियो ।