नेकपाको बोर्ड हटाएर पार्टी कार्यालयमा एमालेको राख्न थालियो

होमल्याण्ड खबर

२०७७ फाल्गुन २४ गते, सोमबार १३:५२ मा प्रकाशित

सर्वोच्च अदालतको फैसलालगत्तै नेकपा एमालेले कार्यालयमा नेकपाको बोर्ड झिकेर एमालेको वोर्ड राख्न शुरु गरेका छन् ।

अदालतले माओवादी केन्द्रसँगको एकता भंग गरेपछि उत्साहित बनेको  पूर्व एमाले पक्षले विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कटहरी गाउँ कमिटी कार्यालय उद्घाटन गरेको छ ।

विराटनगर ११ पाञ्चालीमा यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालय रहेको मदन स्मृति भवनमा फेरि नेकपा एमालेकै कार्यालय बनाइएको हो ।

दुई दल मिलेर नेकपा बन्नुअघि पनि यो भवनमा नेकपा एमालेकै पार्टी कार्यालय थियो ।

सर्वोच्चको आइतबारको फैसलापछि पनि पुनः एमालेकै पार्टी कार्यालय बनाइएको हो । पार्टी कार्यालय पुनः उद्घाटन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल आएका थिए ।