केपी ओली र माधव नेपालका कार्यकर्ताबीच झडप, पार्टी कार्यालयमा प्रहरी परिचालन

होमल्याण्ड खबर

२०७७ फाल्गुन २६ गते, बुधबार १६:०४ मा प्रकाशित

केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षका कार्यकर्ताहरुबीच कुटाकुट भएपछि कैलालीको धनगढीस्थित नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कार्यालयमा प्रहरी खटाइएको छ ।

पार्टीको प्रदेश इञ्चार्जको नेमप्लेटको विषयलाई लिएर बुधबार दिउँसो एमालेका दुई समूह ओली र नेपालका कार्यकर्ताबीच झडप भएको हो ।

पूर्व माओवादी नेता लेखराज भट्टको नेमप्लेटको विषयलाई लिएर नेकपा एमालेका दुई समूहबीच झडपको स्थिति सिर्जना भएको थियो ।

पार्टी कार्यालयमा प्रदेश इञ्चार्जको कार्यकक्ष बाहिर लेखराज भट्टको नेमप्लेट राखिए पछि माधव नेपाल पक्षका कार्यकर्ताले नेमप्लेट हटाएका थिए ।

नेपाल समूहका कार्यकर्ताले पार्टीको सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावल भएको भन्दै लेखराज भट्टको नेमप्लेट हटाएका थिए ।

लेखराज भट्टको नेमप्लेट हटाइए पनि केपी शर्मा ओली पक्षका कार्यकर्ताहरु प्रतिकारमा उत्रिएका हुन् ।

ओली पक्षका कार्यकर्ताहरुले भीम रावलविरुद्ध नाराबाजी गर्दै नेमप्लेट हटाउने कार्यको प्रतिकार गरेका थिए । ‘केपी ओली- जिन्दावाद, लेखराज भट्ट- जिन्दावाद, भीम रावल- मुर्दावाद’ भन्दै ओली पक्षका कार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।

नाराबाजीकै बीच दुवै पक्षका कार्यकर्ता कुटाकुटमै उत्रिएका थिए । दुवै समूहका कार्यकर्ताबीच कुटाकुट भएपछि स्थिति थप बिग्रिन नदिन प्रहरी परिचालन गरिएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक विष्टको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।