सरकार र जसपाबीच आज निर्णायक वार्ता

होमल्याण्ड खबर

२०७७ फाल्गुन २८ गते, शुक्रबार १०:२६ मा प्रकाशित

नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको पछिल्लो निर्णय सँगै नयाँ सरकार समीकरणको कसरथ भइरहेका बेला सरकार र जनता समाजवादी पार्टी (जसपा) बीच आज फेरि छलफल हुँदैछ । सरकार र जसपाको कार्यदलबीच प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे छलफल हुन लागेको हो ।

प्रधानमन्त्री केपी ओली र जसपाका नेताहरुबीच हिजो पनि वार्ता भएको थियो । हिजोको वार्ता सकारात्मक भएकाले थप गृहकार्य गरेर टुंग्गोमा पुग्न कार्यदलको बैठक बस्न लागेको जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी थिए ।

जसपाले निलम्बित सांसद रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहाइ तथा मुद्दा फिर्ता गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग अघि सारेको छ । यी मागमा सरकार सकारात्मक देखिएकाले आज निर्णायक वार्तामा बस्न लागेको उनको भनाइ छ ।

जसपाले पहिला आफूहरुका माग सम्बोधन हुनुपर्ने र त्यसपछि मात्रै सत्ता समीकरणबारे निर्णय गर्ने जनाएको छ । जसपाको कार्यदलमा कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेका छन् भने सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, राजन भट्टराई र सुवास नेम्वाङ सदस्य छन् ।

जसपामा निलम्बनमा परेका बाहेक अहिले ३२ सांसद रहेका छन् । प्रधानमन्त्री ओलीलाई सरकार टिकाइ राख्न एमाले बाहेक १८ सांसदको आवश्यक पर्दछ ।