नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते

होमल्याण्ड खबर

२०७७ फाल्गुन २८ गते, शुक्रबार १२:२२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी एमालेले चैत १ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

सचिव एवं संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार २०७५ जेठ ३ गते माओवादी केन्द्रसित एकीकृत भएर नेकपा बनेपछि एमाले विघटन भएको थियो तर गत २३ गते सर्वोच्च अदालतले ब्युँताइदिएपछि नयाँ परिस्थितिबारे छलफल गर्न पार्टीको केन्द्रीय कमिटी बैठक डाकिएको हाे ।

सर्वाेच्चको फैसलासँगै साविकको एमाले ब्युतिएपछि पहिलो पटक चैत १ गते बैठक बस्न लागेको हो ।

वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बिहीबारको भेलाले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तत्काल बैठक बोलाउनु पर्ने निष्कर्ष निकालेको थियो । एमाले केन्द्रीय कमिटीमा हाल २०३ सदस्य कायम छन् ।

एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच संवादहीनताको अवस्था छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।