४ मंसिर २०८१, मंगलवार
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामबहादुर थापा ‘बादल’ सहित पार्टी छोडेर केपी ओली पक्षमा लागेकालाई एमालेमै बस्न सुझाव दिएका छन् ।
शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले केही साथीले बादल लगायत नेतालाई फकाउन सुझाव दिएको तर आफूलाई फकाउन मन नलागेको भन्दै एमाले मै बस्न सुझाव दिएका हुन् ।
बिग्रेका, भाँचिएका, कुच्चिएकालाई फकाउँछु भन्दा आफ्नो हालत खराब भएको भन्दै प्रचण्डले अब त्यस्तो त्रुटी नदोहोर्याउने बताए ।
‘त्यत्रो बद्मासी गरेकालाई ल्याएर गृहमन्त्री बनाएँ ,गृहमन्त्री रामबहादुर थापा र खानेपानीमन्त्री मणि थापाप्रति लक्षित गर्दै प्रचण्डले भने,’दुई जना मान्छे नभएकालाई स्थायी समिति सदस्य बनाएको त अहिले मन्त्री अब यस्ता मान्छेलाई फकाउन पटक्कै मन छैन’ उनले भने ।
‘भो ति फर्किनु परेको छैन, उतै बसे हुन्छ’, प्रचण्डले भने, ‘ति यहाँ आए भाँडभैलो हुन्छ । यहाँ आएर रोए भने म पग्लिन्छु भन्ने डर छ । आफ्नै साथीहरु अन्यायमा परेजस्तो हुन्छ ।’
प्रचण्डले बदमासी गरेकालाई फकाउँदा गल्ती हुने बताए ।
प्रचण्डले पहिचान, अस्तित्व र इतिहास बिर्सिएर जानु जस्तो धिक्कार केही नभएको बताए । उनले विचार र आस्थामा रहँदामात्र क्रान्तिकारी हुनुको गर्वबोध हुने प्रष्ट पारे ।
‘केही केही गए तिनिहरु अस्तित्वहीन भएर गए । पहिचान, आफ्नो धर्ती, आफ्नो आधार, इतिहास र विरासत छोडेर भाग्नु भन्दा धिक्कार जीवनमा अरु केही हुनै सक्दैन’, प्रचण्डले भने, ‘मान्छे बाँच्छ आस्थाको निम्ति, विचारको निम्ति, मर्छ आस्थाको निम्ति विचारको निम्ति । त्यसैमा मानव र क्रान्तिकारी हुनुको गर्वबोध हुने हो ।’
पार्टी अलगअलग हुँदा माओवादीका नेताहरु बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणि थापालगायत नेता एमालेमै छन् । प्रचण्ड समूहमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता एमालेमा फर्किए पनि माओवादीका नेताले ओलीको साथ नछोडेका हुन् ।