प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ : सांसद थापा

होमल्याण्ड खबर

२०७७ चैत्र १० गते, मंगलवार १४:४९ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अपमान गरेको आरोप लगाएका छन् ।

मंगलबार संघीय प्रतिनिधिसभा बैठककोशून्य समयमा बोल्दै सांसद थापाले यो सरकार जतिदिन रहन्छ त्यतिदिन प्रधानमन्त्रीलाई संसदप्रति तिरस्कार हुने बताए । तर जनताले अपमानको वदला लिने उनको भनाइ छ ।

‘हामी स्पष्ट छौँ, जतिदिन यो सरकार रहन्छ, संसदको तिरस्कार र अपमान र उपेक्षा गर्ने काम बढ्दै जान्छ किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ’, सांसद थापाले भने ।

प्रधानमन्त्री ओलीले संसद विघटन सही थियो भन्ने स्थापित गराउनका लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च रहेको थापाको भनाइ थियो ।

‘कहिले प्रश्न छल्न हठात् संसद बैठक स्थगित गर्ने, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग गर्ने’, संसदमा थापाले भने, ‘अनि अहिले प्रतिनिधि सभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गराउन संसदलाई कामविहीन बनाउने प्रपञ्च गर्ने ?’

सांसद् थापाले यो विधेयक अधिवेशन भएकाले आफूहरु काम गर्न तयार रहेको स्पष्ट पारे ।

एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने प्रधानमन्त्रीले संसदलाई एउटा पनि विधेयक नदिएकोमा प्रश्न गरे ।