एमाले संसदीय दलको बैठक बस्दै

होमल्याण्ड खबर

२०७७ चैत्र १३ गते, शुक्रबार १०:२२ मा प्रकाशित

आज नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । नेकपा एमालेभित्रको विवाद विभाजनतर्फ अघि बढिरहेका बेला संसदीय दलको बैठक बस्न लागेकाे हाे । बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने बताइएको छ ।

एमाले चुनाव चिन्ह लिएर सांसद् बनेका सबैलाई बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । सर्वोच्च अदालतले एमाले व्यूंत्याएपछि संसदीय दलको बैठक तीन पटक बसे पनि नेपाल पक्ष सहभागी भएको छैन ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा समूहले वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार नेतालाई स्पष्टीकरण सोधेपछि एमालेभित्रको विवाद नयाँ मोडमा पुगेकाे छ । ओलीले सोधेको स्पष्टीकरणमा वरिष्ठ नेता नेपालले प्रतिप्रश्नसहितको जवाफ पठाएका छन् । नेता नेपालको प्रतिप्रश्नसहितको जवाफले अध्यक्ष ओली थप असन्तुष्ट भएकाे बताइएकाे छ । यसअघि बैठकमा अनुपस्थित माधवकुमार नेपाल पक्षीय नेताहरू यस पटकको संसदीय दलको बैठकमा सहभागी हुने बताए पनि अन्तिम टुङ्गो भने लगाइनसकेकाे बताइएकाे छ ।