५ मंसिर २०८१, बुधबार
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बन गरेपछि असन्तुष्ट नेताहरु आन्तरिक छलफलमा जुट्न थालेका छन् ।
पार्टीमा अध्यक्ष ओलीविरुद्ध संघर्ष गर्दै आएका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षधर नेताहरु मंगलबार दिउँसो छलफलमा जुट्न लागेका हुन् । खनाल–नेपाल पक्षका नेताहरु मंगलबार मध्याह्न १२ बजेदेखि छलफलमा जुट्ने १ जना नेताले जानकारी दिए । छलफल हुने स्थान भने खुलाइएको छैन ।
अध्यक्ष ओलीले २ जना नेतालाई कारबाही गरेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न नेताहरु भेला हुन लागेको नेपाल पक्षका १ जना स्थायी कमिटी सदस्यले जानकारी दिए ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादमा फागुन २३ गते गरेको फैसला पछि ब्यूँतिएको नेकपा एमालेमा अध्यक्ष ओलीले एकलौटी निर्णय गरेको भन्दै असन्तष्ट नेताहरुले विरोध जनाउँदै आएका थिए ।
अध्यक्ष ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाएर वरिष्ठ नेता खनाल र नेपाल पक्षमा रहेका नेताहरुको जिम्मेवारी खोसीदिएका थिए । ओलीले आफू (अध्यक्ष) र महासचिव बाहेक पार्टीका अन्य पदाधिकारीहरु समेत खारेज गरिदिएका थिए ।
आगामी मंसिर पहिलो हप्ता पार्टीको महाधिवेशन गर्ने भनेर ओलीले पार्टी केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय समेत गरेका थिए ।
ओलीले फागुन २८ मा एकलौटी रुपमा गरेका निर्णय मान्य नहुने भने खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविध सञ्चालन गरेको थियो ।
यसबीचमा खनाल–नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरी ओलीविरुद्ध देशव्यापी रुपमा नै भण्डाफोर अभियान चलाउने निर्णय गरेको थियो । यस्तै ओलीले भने वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल तथा नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गराएका थिए ।
नेपाल र रावलले ओलीमाथि नै विभिन्न प्रश्न उठाउँदै स्पष्टीकरणको जवाफ फर्काएका थिए ।
स्पष्टीकरण बुझाएको केही दिन पछि नै अनुशासन विपरीत गतिविधि गरेको भन्दै ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्वनको निर्णय गरेका हुन् ।