प्रचण्डको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीशकाे इजलासमा सुनवाइ हुदैँ

होमल्याण्ड खबर

२०७७ चैत्र १९ गते, बिहीबार ११:११ मा प्रकाशित

तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्चको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको छ।

उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणासहित न्यायाधीशहरू तेजबहादुर केसी  र प्रकाशकुमार ढुंगानाको इजलासले सुनुवाइ गर्दैछ।

नेकपा आफ्नो पार्टीको नाम भएको भन्दै ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई एकीकरण पूर्वको अवस्थामा फर्काइदिने फैसला गरेको थियो।

उक्त फैसलाविरुद्ध माओवादी अध्यक्ष  ‘प्रचण्ड’ले गत मंगलबार सर्वोच्चमा पुगेर पुनरावलोकनको निवेदन दिएका थिए ।

उनले नेकपा फुटाएर एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा आठ प्रश्न उठाउँदै पुनरावलोकनको माग गरेका हुन् ।