५ मंसिर २०८१, बुधबार
कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । अर्थ तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।
तीनै जनालाई भर्खरै राजीनामा बुझाएको उद्योगमन्त्री नन्दसिंह बुढाले जानकारी दिए । राजीनामा दिएका तीनै जना नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका हुन् ।
यसअघि चैत ४ गते बसेको एमाले संसदीय दलको बैठकबाट नै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको घोषणा गरे पनि उनीहरूले राजीनामा दिएका थिएनन् ।
एमालेका तीन मन्त्रीले राजीनामा दिएपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ । कर्णाली प्रदेशमा कुल ४० मध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसद रहेका छन् ।
कर्णाली प्रदेशमा सरकारलाई बचाइ राख्न वा नयाँ सरकार गठनका लागि २१ जना प्रदेशसभा सदस्यको बहुमत आवश्यक पर्दछ ।