प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरिन् चार मन्त्रीलाई पुनर्नियुक्ति

होमल्याण्ड खबर

२०७७ चैत्र २७ गते, शुक्रबार १५:४८ मा प्रकाशित

 राष्ट्रपति विद्यादेवी भण्डारीले सासंद पद गुमाएका चार मन्त्रीहरूलाई पुनर्नियुक्ति गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, सहरी विकासमन्त्रीमा प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशङ्कर चौधरीलाई पुनर्नियुक्ति गरेकी हुन् ।

उनीहरुलाई आज साँझ ५ बजे राष्ट्रपति भण्डारीले धारा ७८ (१) अनुसार मन्त्री पदमा पुनः शपथ गराउन लागेकी राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पार्टी परित्याग गरी ओली नेतृत्वको सरकारमा गएका चार सांसदलाई कारबाही गरेको
सूचना संसद् सचिवालयमा दर्ता गराएका थिए । उक्त सूचना हिजोको प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाल पढेर सुनाएसँगै उनीहरुको पद रिक्त भएको थियो ।

पुनर्नियुक्ति भएका मन्त्रीहरुले बढीमा ६ महिनासम्म मन्त्री पदमा बस्न पाउनेछन् । त्यस अवधिमै उनीहरु सांसद भएमा मन्त्री पदमा निरन्रता पाउन सक्नेछन् ।