५ मंसिर २०८१, बुधबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेपछि समानान्तार कमिटी बनाउन सक्रिय रहेको नेता माधव कुमार नेपालले आफूलाई साथ दिने नेतालाई आगामी चुनावमा टिकट दिने आश्वास दिएका छन् ।
वीरगञ्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले संकटको बेला साथ दिएकाहरूलाई आगामी चुनावमा टिकट दिइने बताएका हुन् । नेपाल पक्षले शनिवार वीरगञ्जमा भेला गरी बालगोपाल थापाको अध्यक्षतामा एमालेको पर्सा जिल्ला समानान्तर कमिटी गठन गरेको छ ।
नेता नेपालले निर्वाचन आयोगले एमालेको आधिकारिकता केपी ओलीलाई दिए पनि कार्यकर्ताले निराश हुनु नपर्ने र चुनावमा टिकट नपाइएला कि भन्न चिन्ता लिनु नपर्ने उल्लेख गरे ।
उनले अहिले पनि एमाले पार्टी एउटै रहेको र केपी ओलीले आफूहरुमाथि गरेको कारबाही अवैधानिक छ भनेर निर्वाचन आयोगलाई आफूहरुले ओलीका निर्णय बदर गर्नका लागि पत्र बुझाएको बताए ।
नेता नेपालले नेकपा एमाले र माओवादी केन्द्रलाई ३ वर्षअघिकै अवस्थामा फर्काइदिने सर्वोच्च अदालतको फैसला विचित्रको भन्दै जन्मिसकेको बच्चालाई आमाको गर्भमा फर्काइदिएको बताए ।
फागुन २३ अघिनै निर्वाचन आयोगले नेकपाको आधिकारिकता आफूहरुलाई दिएको भए एमाले ब्युँतिए पनि अर्थहीन हुने नेपालको भनाइ थियो । आयोगले बेलैमा निर्णय नदिएर आफूहरुमाथि अन्याय गरेको नेपालले बताए ।
नेपालले निर्वाचन आयोगले एमाले भइसकेपछि ओलीले गरेका निर्णयविरुद्ध आफूहरुले उजुरी दिदा समेत कुनै निर्णय नगरेकोमा आपत्ति समेत जनाएका छन् ।