नहकुल सुवेदीविरुद्ध परेको रिटमा आज फैसला हुँदै

होमल्याण्ड खबर

२०७७ चैत्र ३० गते, सोमबार १४:२८ मा प्रकाशित

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नहकुल सुवेदी अयोग्य भन्दै परेको रिटमा सर्वोच्चले आज निर्णय सुनाउँदैछ ।  सुवेदीको सर्वोच्चमा न्यायाधीस हुन योग्यता नपुग्ने भएकाले नियुक्ति गर्न नहुने माग गर्दै भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले चैत १३ गते सर्वोच्च रिट दायर गरेका थिए ।

सुवेदी उच्च अदालतको न्यायाधीश भएको ३ वर्ष ३ महिना मात्रै भएको छ भने न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीमा काम गरेको करिब ९ वर्ष १० महिना १५ दिन मात्र भएको छ ।

यसैलाई देखाउँदै वरिष्ठ अधिवक्ता भण्डारीले सर्वोच्चमा दायर गरेको रिटमा आज सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको इजलासले फैसला गर्नेछ ।

संसदीय सुनुवाइ समितिमा समिति सुवेदीविरूद्द योग्यताको प्रश्न उठाउँदै उजुरी परेको छ । सर्वोच्च अदालत नेपाल बार एसोसिएसनले समेत सुवेदीलाई सर्वोच्चको न्यायाधीश बनाउन योग्यता नपुग्ने भन्दै आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।

सर्वोच्चले योग्यता नपुग्ने ठहर गरेमा सुवेदी सर्वोच्चमा न्यायाधीश हुन पाउने छैनन् । न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतका न्यायाधीश मध्येबाट कुमार चुँडाल र सुवेदीको नाम सिफारिस गरेको थियो । मुख्य रजिस्ट्रार हुँदै उच्च अदालतको न्यायाधीश बनेका सुवेदीको सिफारिस भने विवादित बन्न पुगेको छ ।