लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी

होमल्याण्ड खबर

२०७८ बैशाख ३ गते, शुक्रबार १०:०४ मा प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेका हुन् ।

एमालेका ४१ र जनता समाजवादी पार्टीका एकजना सांसदबाहेक ४२ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरिसकेको बताइएको छ । जसपाका ६ सदस्य मध्ये कल्पना पाण्डेले भने प्रस्तावमा हस्ताक्षर गरेकी छैनन् । जसपाका कुल ६ जना प्रदेशसभा सदस्यमध्ये ५ जना तत्कालीन समाजवादीका र एकजना राजपाका छन् ।

जसपाका सबै सदस्यले अविश्वासको प्रस्तावमा साथ दिए मुख्यमन्त्री पोखरेल अल्पमतमा पर्ने देखिन्छ । मुख्यमन्त्री पोखरेललाई सरकार टिकाइराख्न एमाले बाहेक २ जना सांसदको सहयोग आवश्यक पर्नेछ ।

लुम्बिनी प्रदेशमा ८७ मध्ये हाल ८५ प्रदेश सभा सदस्य रहेका छन् । जसमध्ये नेकपा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन् ।

माओवादीका २० प्रदेश सभा सदस्यमध्ये पूर्णबहादुर घर्ती सभामुख छन् भने दिनेश पन्थी र माधव शर्मा एमालेमा गएकाले कारबाहीमा परिसकेका छन् ।