नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको नेतृ पम्फा भुसालले जानकारी दिइन् ।
स्थायी कमिटिको निर्णयअनुसार अध्यक्ष प्रचण्डले जुनसुकै बेला समर्थन फिर्ता लिनसक्ने उनको भनाइ छ । यसअघि हिजोको बैठकले ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार गठनका विषयमा अन्य दलसँगको वार्ता र छलफललाई घनिभूत रुपमा तीव्रता दिने निर्णय थियो ।
बैठकले ‘प्रतिगामी’ सरकारलाई हटाएर संविधान र लोकतन्त्र पक्षधरको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्ता र संवादलाई तीव्र रुपमा घनीभूतता दिने निष्कर्षमा पार्टी पुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।
वर्तमान सरकारले संविधान, कानुन, लोकतन्त्रलाई संकट पारिरहेको र जनादेश, सामाजिक आर्थिक रुपान्तरण, कम्युनिस्ट आन्दोलनविरुद्ध काम गरेकाले ओलीलाई सरकारबाट हटाउनुको विकल्प नभएको माओवादीको ठहर छ