मेस्सीपछि विश्वकपबाट रोनाल्डो पनि बाहिरिए

होमल्याण्ड खबर

२०७५ असार १७ गते, आईतवार ०६:२८ मा प्रकाशित

विश्वकप फुटबलको प्रिक्वाटरफाइनलबाट अर्जेन्टिना र पोर्चुगल बाहिरिएका छन् । यी दुई टिम बाहिरिएसँगै विश्वचर्चित खेलाडी लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो विश्वकपबाट बाहिरिएका छन् ।

विश्वकप सुरु हुनुभन्दा पहिले विश्वकपको ट्रफि लिएर स्वदेश फर्किने लक्ष्यका साथ रसिया पुगेका मेस्सी र रोनाल्डो अन्ततः खालि हात फर्किनुपरेको छ । विश्वकप फुटबलको पहिलो प्रिक्वाटरफाइनलमा फ्रान्ससँग ४–३ गोलअन्तरले पराजित भएसँगै अर्जेन्टिना विश्वकपबाट बाहिरिएको थियो भने शनिबार राति नै उरुग्वेसँग भएको खेलमा पोर्चुगल २–१ गोलअन्तरले पराजित हुँदै विश्वकपबाट बाहरिएको छ ।

रसियामा जारी विश्वकप फुटबलमा भने अब यी महान दुई फुटबलका हस्ती देखिने छैनन् ।

लियोनल मेस्सीले समूह चरणअन्तर्गत नाइजेरिया बाहेक अन्य खेलमा पनि राम्रो खेल्न सकेका थिएनन् । मेस्सीले पहिलो खेलमा नै नाइसल्यान्डविरुद्ध पेनाल्टी मिस गरेका थिए । उनले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको भए अर्जेन्टिनाले आइसल्यान्डलाई २–१ गोलअन्तरले विजयी हुने थियो तर, उनी पेनाल्टीमै चुकेका थिए । दोस्रो खेलमा अर्जेन्टिना क्रोएसियासँग ३–० गोलअन्तरले पराजित हुंदा मेस्सीले राम्रो खेल्न सकेका थिएनन् ।

क्रिष्टियानो रानोल्डोले जारी विश्वकपको समूह चरणको पहिलो खेलमा भने दमदार प्रदर्शन गर्दै चकित बनाएका थिए । उनले पहिलो खेलमा स्पेनविरुद्ध नै ह्याट्रिक गोल गरेका थिए । कुनै समय गोल्डेन बुटको दाबेदारको रुपमा हेरिएको रोनाल्डोले ४ खेलमा ४ गोल मात्रै गर्न सफल भए ।