माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझायो

होमल्याण्ड खबर

२०७८ बैशाख २२ गते, बुधबार १४:४६ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाएको छ ।        माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई बुझाएका हुन् ।

हिजो बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गर्दै समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउने निर्णय गरेको थियो । सोही अनुसार आज सचेतक गुरुङले समर्थन फिर्ताको पत्र बुझाउन संसद सचिवालय गएको माओवादीका नेता लिलामणि पोखरेलले जानकारी दिए ।

तीन प्रदेश प्रमुखहरुलाई बिनाकारण पदमुक्त गरेकोप्रति आपत्ति जनाउँदै हिजोको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यहि यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिँदैछन् ।