आज साझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ बैशाख २५ गते, शनिबार १२:०८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए। बैठकको एजेण्डाबारे भने जानकारी  नभएको ती मन्त्रीले बताए ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज साँझ आकस्मिक रुपमा बोलाइएको बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीले विशेष अधिवेशन मार्फत यहि वैशाख २७ गते विश्वासको मत लिदैँछन् । कांग्रेसले आफूहरु विश्वासको मतमा समर्थन नगर्ने बताइसकेका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले आइतबार विहान ९ बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन् । उनले बोलाएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने भएका छन् ।