संवैधानिक परिषद् बैठक रोक्न माओवादीको माग

होमल्याण्ड खबर

२०७८ बैशाख २५ गते, शनिबार १७:१५ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले संवैधानिक परिषद्को बैठक स्थगित गर्न माग गरेको छ । अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले शनिवार एक वक्तब्य जारी गदै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग माग गरेका हुन् ।

संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको भन्दै प्रचण्डले अहिले त्यस्तै मनसायले बोलाएको बैठक स्थगित गर्न माग गरेका हुन् ।

‘संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’ प्रचण्डले वक्तब्यमार्फत भनेका छन् ।

प्रधानमन्त्री ओलीले भोलिका लागि सम्वैधानिक परिषद्को बैठक आह्रवान गरेका छन् ।

सम्वैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायधिस, सभामुख, राष्टिय सभा अध्यक्ष, विपक्षी दलका नेता र प्रतिनिधीसभाका उपसभामुख सदस्य रहने ब्यवस्था छ ।

तर उपसभामुख रिक्त छ भने विपक्षी दलका नेता काग्रेस सभापति शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटाले बैठकमा नजाने निर्णय गरिसकेका छन् । देउवाले त अझ वक्तब्य नै जारी गरेर अनय सदस्यलाई पनि बैठकमा नजान आग्रह गरेका छन् ।

प्रचण्डले पनि यस्तो बेला बैठक राख्नुको अर्थ नहुने भन्दै स्थगित गर्न आग्रह गरेका हुन् । सरकारले उपस्थित सदस्यको वहुमतले सम्वैधानिक निकायमा सिफारिसको निर्णय लिन सक्ने गरी अध्यादेश ल्याएर परिषद्को बैठक वोलाएका छन् । अहिले लाकेसेवा आयोगका सवै पदाधिकारी, अख्तियार दुरुपयोग आयोग, निर्वाचन आयोग र समावेशी आयोग लगायतमा पद रिक्त छ ।

ति रिक्त पदमा ओलीले नियुक्तिको सिफारिस लिन अध्यादेश मार्फत उपस्थितीको वहुमतले निर्णय लिन सक्ने गरी ल्याएको र बैठक बोलाएको आरोप विपक्षी पार्टीहरुको छ ।