उपेन्द्रको व्यक्तिगत निर्णयले गठबन्धनको सरकार नबन्ने भन्दै महन्थले पठाए राष्ट्रपतिलाई पत्र

होमल्याण्ड खबर

२०७८ बैशाख २८ गते, मंगलवार १३:०० मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाउँदै जसपाले कुनै पनि सरकार गठनमा सहभागी हुने निर्णय नलिएको बताएका छन् ।

प्रधानमन्त्री केपी ओली संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरी बहुमतीय सरकार गठनका लागि  प्रक्रिया अघि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका थिए ।

त्यसलगत्तै राष्ट्रपति भण्डारीले  भण्डारीले हिजो संविधानको धारा ७६ को उपधारा २ बमोजिम र दुई वा दुई भन्दा बढी दलहरुको बिहीबारसम्म नयाँ सरकार गठनका निम्ति आह्वान गरेकी छन् ।

राष्ट्रपतिले गठबन्धन सरकार बनाउन आह्वान गरेलगत्तै जसपामा भाँडभैलो सिर्जना भएको छ ।

जसपाका अध्यक्ष ठाकुरले राष्ट्रपति भण्डारीलाई पत्र पठाउँदै आफू पार्टीको  पहिलो अध्यक्ष भएको भन्दै उपेन्द्र यादवको व्यक्तिगत निर्णय पार्टीको निष्कर्ष हुन नसक्ने जिकिर गरेका छन् ।

उनले इमेलमार्फत् पठाएको पत्रमा भनेका छन् , ‘यादवको हस्ताक्षर व्यक्तिगत हो, जसपा गठबन्धन सरकार निर्माण प्रक्रियामा सहभागी हुँदैन’

यस्तै उनले गएराति नै विज्ञप्ति जारी गरेर जसपा नयाँ सरकार गठनको प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका छन् । साथै उनले मधेस आन्दोलनका थाती रहेका माग सम्बोधन ओली नेतृत्वको सरकारले नै गरेको बताएका छन् ।