५ मंसिर २०८१, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको बाटोबाट सत्ता कब्जा गर्न नसकेपछि विपक्षी पार्टीले अनेक विधि अपनाएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले लोकतन्त्रविरुद्ध हिँडेर तानाशाही शासन चलाउने उद्देश्य राखेका पनि नसकेपछि तरिका बदलेको बताएका हुन् ।
प्रधानमन्त्रीले आफूलाई प्रजातान्त्रिक भन्ने पार्टीहरू पनि प्रचण्ड पथ बाटो हिँडेर सत्ता कब्जाको बाटोमा हिँडेको आरोप लगाए । उनले भने, ‘केपी ओलीले गरेको चुनावमा जान्न भनेर नेपाली कांग्रेसका नेताले भन्नु भएको सुनेँ, यो कस्तो कुरा हो ? के कांग्रेसलाई टीका लगाएर प्रधानमन्त्री दिनु पर्ने हो ?’
‘प्रधानमन्त्री बन्ने उद्देश्यले किर्ते कागजजात लिएर राष्ट्रपतिमा जान मिल्छ ? यसका नेकपा एमालेका केही नेताहरू पनि लागेको देखेँ, के यसरी लोकतन्त्रको रक्षा हुन्छ ?’ प्रधानमन्त्री ओलीले भने, ‘यदि, लोकतन्त्रलाई हामीले उत्तम व्यवस्था र सुरक्षा गर्ने महसुस गर्न पर्छ भने पार्टी अनुशासन तोडाउन मिल्छ ?’ संविधान र लोकतान्त्रिक अभ्यासअनुसार सरकार चलाउँदा कू नहुने उनले बताए ।
अहिलेको प्रतिनिधिसभाको अवस्था कमजोर भएको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले आफ्नो पार्टीको १२१ सांसद र जनता समाजवादी पार्टी (जसपा)का ३२ सहित १५३ जनाको बहुमत लिएर सरकार बनाउन खोजे पनि त्यो हुन नसकेको बताए ।