संविधान त राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीको प्रेमपत्र लेखिएको डायरीजस्तो भयो: झाँक्री

होमल्याण्ड खबर

२०७८ जेष्ठ ११ गते, मंगलवार १३:५४ मा प्रकाशित

नेकपा (एमाले) बाट निश्काषनमा परेकी नेतृ रामकुमारी झाँक्रीले अवैधानिक कमिटीले आफूहरुलाई कारबाही गर्न नसक्ने दाबी गरेकी छिन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले जनतालाई महामारीमा राखेर सरकारले औषधीदेखि कात्रोसम्ममा भ्रष्टाचार गरेको आरोप लगाईन् ।

उनले भनिन्-“साना आयोजनादेखि ठूला आयोजनासम्ममा सेटिङमा भ्रष्टाचार गरेको छ । ठूला ठूला अपराध र कर्तुत गरेको छ । संविधानको बर्खिलाप गरेको छ । त्यस्ता व्यक्तिहरुलाई, त्यस्ता तत्वहरुलाई कारबाहीको माग गर्दै बाहिर आएका हामीहरुलाई उल्टै कारबाही गर्ने, निहत्था जनतालाई कारबाही गर्ने भनेको त एक हिसाबले भन्ने हो भने हामीलाई एमालेभित्रबाट कारबाही गर्ने भनेको हस्पिटलको इमर्जेन्सीमा अक्सिजन नपाएर, बेड नपाएर छटपटिएका जनतालाई मृत्युदण्डको सजाय सुनाएजस्तै हो ।
जो चाहीँ आँफै जनताको यस्तो दुःखमा, महामारीमा छटपटाईरहेको छ, के गर्न सकिन्छ भनेर रु लौन आजको प्राथमिकता चाहीँ कुर्सी होईन, सरकार परिवर्तन गर्ने पनि होईन, यी सबै काम थाँती राखेर जनता महामारीमा मरिरहेका छन्, औषधी पाएका छैनन्, खोप पाएका छैनन् । सिटामोल पाईँदैन् । अस्पतालमा बेड पाईँदैन् । अक्सिजन पाईँदैन् । हामीले सहनै नसकेर लौन यो महामारीमा जनतालाई केही गर, जनताको मासु नखाउ भनेर निकालिएको आवाज बन्द गर्न गरिएको कोशिस हो यो अवैधानिक र हावादारीमा गरिएको कारबाहीको केही पनि अर्थ छैन् ।”
उनले अवैधानिक पार्टी र कमिटीले गरेको स्पष्टीकरणको जवाफ दिनुपर्ने कुनै कारण नभएको स्मरण गराईन् । उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको स्पष्टीकरणपत्रको जवाफ दिने कुरा नभएको पनि सुनाए । लोकतन्त्र र न्यायको लागि लडेकाहरुलाई यस्तो कारबाहीको कुनै अर्थ नहुने उनको जिकिर छ । पहिलोपटक संसद् पूनःस्थापना हुनेबित्तिकै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने थियो भन्नेपनि उनले स्मरण गराईन् । उनले संविधानको बर्खिलापमा ओलीले फेरि संसद् विघटन गरेको गम्भीर आरोप लगाईन् । उनले भनिन्-“संविधान त यस्तो भयो कि राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीको प्रेमपत्र लेखिएको डायरीजस्तो भयो । उहाँहरुले मनोमानी ढंगले च्यातचुत र तोडमरोड गरेर फेरि दोस्रो पटक संविधानमाथिको बलात् आक्रामण र संसद्को विघटनको ठाउँमा पुग्यो र यसलाई चाहीँ हामीले के भनेका छौं भने यो राजनीतिक हिसाबले केपी ओलीले गरेको आफ्नो आत्महत्या हो ।”