एमालेले सुदूरपश्चिमका ३ मन्त्रीसँग माग्यो २४ घण्टे स्पष्टीकरण

होमल्याण्ड खबर

२०७८ जेष्ठ १३ गते, बिहीबार १६:२५ मा प्रकाशित

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नभएका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

आज प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले आज एक स्पष्टीकरण जारी गर्दै पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै
२४ घण्टा भित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री बनेका माया भट्ट लाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो ।

यसअघि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने र एमालेबाट मन्त्री भएकाहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो ।