९ मंसिर २०८१, आईतवार
फ्रान्स र उरुग्वेबीच शुक्रवार हुने विश्वकपको क्वार्टरफाइनल प्रतिस्पर्धामा सबैको नजर फ्रान्सका गोलमशिन किलियन एम्बाप्पेमा रहनेछ ।
उनलाई रोक्न उरुग्वेको डिफेन्सका लागि चुनौतीपूर्ण हुनेछ । उरुग्वेले अहिलेसम्म आफ्नो मजबूत डिफेन्सको बलमा खेलहरू जित्दै आएको छ ।
उन्नाईस वर्षीय एम्बाप्पे हरेक डिफेन्सलाई छेड्न समर्थ देखिएका छन् ।
यो प्रतिस्पर्धा उरुग्वेको डिफेन्स र एम्बाप्पेको गतिका बीच हुनेछ ।
फिटनेस समस्याबाट गुज्रिरहेका उरुग्वेका स्ट्राइकर एडिनसन कवानी पीएसजी क्लबमा एम्बाप्पेसँग खेल्छन् । उरुग्वेको आक्रमणको नेतृत्व लुइस सुआरेजले गर्नेछन् ।
कप्तान डिएगो गोडिनको नेतृत्वमा जोस जिमेनेज, मार्टिन कासेरेस र डिएगो लक्साटको डिफेन्सले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै जम्मा एक गोल खाएको छ । अनि गोलकीपर फर्नान्डो मुस्लेरालाई पनि यसको श्रेय दिनुपर्ने हुन्छ ।
समूह चरणमा उरुग्वेले एक गोल पनि खाएन । अन्तिम १६ को खेलमा भने पोर्चुगलका पेपेले गोल गरे तर आफ्नो टोलीलाई जिताउन सकेनन् । ब्राजिलले पनि यो विश्वकपमा जम्मा एक गोल खाएको छ ।
उता फ्रान्सले भने चार गोल खाइसकेको छ । अनि फ्रान्स र उरुग्वे दुवैले सात–सात गोल गरेका छन् ।
उरुग्वेका अनुभवी डिफेन्डरहरूले आपसमा कुल ३५० अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलिसकेका छन् त्यसैले एम्बाप्पेका लागि अर्जेन्टिनाविरुद्धको जस्तो सहजता हुने छैन । त्यसो त फ्रान्समा एम्बाप्पेबाहेक आत्वाँ ग्रिजम्यान पनि राम्रो फर्वार्ड
खेलाडी छन् ।