२८ फाल्गुन २०८२, बिहीबार
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश भित्रका समूर्ण नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेको बताए।
उनले कोरोनाको रोकथाम र नियन्त्रणका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउने बताए ।


सरकार गठन भएको एक हप्ता पनि नपुगेका अवस्थामा संवैधानिक एवम् कानूनी व्यवस्था समेतका आधारमा नीति तथा कार्यक्रम एवम् बजेट ल्याइएको उनको भनाई छ ।
उनले महिलाले भोग्ने गरेको प्रमुख समस्या स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सरको शल्यक्रिया गर्ने क्रममा लाग्ने खर्च निःशुल्क गर्न सरकारले प्रतिवद्धता व्यक्त गरेको बताए ।
त्यस्तै दुर्गम क्षेत्रमा जटिल अवस्थामा रहेका गर्भवती, सुत्केरी, नवजात शिशुलाई उद्धार गरी सुविधासम्पन्न अस्पतालसम्म पु¥याउने कुरामा पनि यस सरकारले प्रतिवद्धता व्यक्त गरेको उनले बताए । शिक्षा, स्वास्थ्य लगायतका हरेक क्षेत्रको विकासलाई लक्षित गर्दै सरकार अघि बढेको मुख्यमन्त्री पोखरेलले बताए ।
सरकारले जन अपेक्षा अनुसारका कामलाई अघि बढाएको उल्लेख गर्दै उनले राजनीतिक स्थिरता कायम गर्दै प्रदेशसभालाई विघटनको दुर्घटनाबाट बचाउनका लागि पनि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरे ।
२९ जेठमा नेपालको संविधान धारा १६८ को उपधार ५ अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएका पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यही व्यवस्था अनुरुप उहाँले आज विश्वासको मत लिन लागेका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा पोखरेललाई नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र प्रदेशसभा सदस्य १ सहितको समर्थन छ भने प्रमुख प्रतिपक्षी दल एमालेसँग २७ जना प्रदेशसभा सदस्य रहेका छन् ।
राष्ट्रिय जनमोर्चाका तीन मध्ये एक प्रदेशसभा सदस्य कृष्ण थापालाई उनकै पार्टीले कारबाही गरिसकेको छ । विश्वासको मतको प्रस्ताव सम्बन्धी छलफलमा प्रदेशसभा सदस्यहरूले भाग लिइरहनुभएको छ ।