नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ असार १७ गते, बिहीबार १०:५७ मा प्रकाशित

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । एमाले संस्थापन पक्षले महाधिवेशन आयोजक कमिटी भंग गरेर भोलिका लागि केन्द्रीय कमिटी बैठक डाकेपछि धारणा बनाउन नेपाल–खनाल समूहको बैठक बस्न लागेको हो ।

हिजो बसेको संस्थापन पक्षको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोज कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय सँगै २०७५ साल जेठ २ गतेकै अवस्थाको केन्द्रीय कमिटी बैठक डाकेको जनाएको छ । तर खनाल–नेपाल समूहका नेताहरु भोलिका लागि डाकिएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने या नहुने भन्नेबारेमा अलमलमा परेका छन् ।

दशौं महाधिवेशन आयोजक कमिटी अवैध रहेकाले त्यो कमिटीको निर्णय अनुसार बैठक बोलाइएकाले बैठकमा सहभागी हुने या नहुने भन्नेबारे अहिले नै भन्न नसकिने खनाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

सो समूहका नेताका अनुसार अध्यक्ष ओलीले जेठ २ मा पार्टीको संरचना फर्काएको बताए पनि फेरि जालझेल गर्दै पार्टीलाई २०७७ साल फागुन २८ कै अवस्थासम्म लगिएको छ ।

अदालतले समेत अवैध भनेको कमिटीको बैठकमार्फत ६ जनालाई स्थायी समितिमा मनोनयन गर्दै बैठक डाक्नु फागुन २८ कै परिस्थितिमा पार्टी पु¥याउनु भएकाले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा जाने सम्भावना कम भएको नेता युवराज ज्ञवालीले बताए ।