कांग्रेस पदाधिकारी बैठक आज बस्दै

होमल्याण्ड खबर

२०७८ असार १८ गते, शुक्रबार ०८:४२ मा प्रकाशित

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशनको तयारी र क्रियाशील सदस्यता विवाद, सदस्यता छानविन मापदण्डका बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा वर्तमान तथा पूर्वपदाधिकारीलाई बोलाइएको छ ।कांग्रेसमा क्रियाशील सदस्यताको विषयमा तीव्र विवाद रहेको छ । क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानविन समितिलाई जिम्मेवारी दिइएको भए पनि समितिले नयाँ सदस्यताका बारेमा मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानविन हुन सकेको छैन ।

छानविन समितिले क्रियाशील सदस्यबारे बनाएको मापदण्डको खाका यसअघिको पदाधिकारी बैठकमा पेश गरेको थियो । तर पदाधिकारी बैठकमै सहमति नजुट्दा समितिले काम अगाडि बढाउन सकेको छैन ।

कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।

हिजोका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा आएर स्थगित भएको थियो ।