प्रतिनिधि सभा विघटन सम्वन्धी मुद्धामा सभामुखका ५ वकिलले बहस गर्ने

होमल्याण्ड खबर

२०७८ असार १८ गते, शुक्रबार १०:४६ मा प्रकाशित

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित १४६ जना सांसदको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सभामुख अग्निप्रसाद सापकोटाका ५ जना वकिलले बहस गर्ने भएका छन् । रिट निवेदक तर्फकबो बहस सकिएको छ । विपक्षी प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयको तर्फबाट बहस जारी छ ।

प्रधानमन्त्री ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको तर्फबाट बहस सकिएपछि सभामुखका वकिलले बहस गर्नेछन् । प्रधानमन्त्री ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको तर्फबाट भइरहेको बहस आज सक्ने तयारी छ ।

सभामुख सापकोटाको तर्फबाट बरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लभकुमार मैनाली र उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरु मेघराज पोखरेल, श्रीकृष्ण सुवेदीले बहस गर्ने सभामुख सापकोटाका संचार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुखका कानून व्यवसायीलाई बहस गर्न इजलासले एक घण्टाको समय दिएको छ । त्यसमा नपुगे आधा घण्टा थप गर्न सकिने इजलासले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक गत जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेपछि सो कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा ३० वटा रिट परेका छन् ।

जसमध्ये कांग्रेस सभापति शेरबहादुर देउवा सहित १४६ जना सांसदको तर्फबाट दायर भएको रिटलाई सर्वोच्चको संवैधानिक इजलासले प्राथमिकता दिएर सुनुवाई गरेको हो । सो रिटमाथि यही असार ९ गतेबाट नियमित सुनुवाई भइरहेको छ ।