२८ फाल्गुन २०८२, बिहीबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले असन्तुष्ट नेता माधवकुमार नेपाललाई भेटेर ओली–नेपालको संयुक्त वक्तव्य निकाल्न प्रस्ताव राखेका छन् । आइतबार बिहान ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल वरिष्ठ नेता नेपालको निवास कोटेश्वर पुगेर नेता नेपालसमक्ष यस्तो प्रस्ताव गरेका हुन् ।
‘पार्टी एकताको सन्देश दिन संयुक्त वक्तव्य निकालौँ, त्यसका लागि अध्यक्षसँग एकपटक भेटवार्ता गरौं’, ओली पक्षका नेताहरुले नेता नेपालसँग प्रस्ताव गरेका थिए । उनीहरुको प्रस्तावलाई नेता नेपालले सकारात्मक लिँदै, कार्यदलबाट वक्तव्य ड्राफ्ट पारेर ल्याउन सुझाव दिएका थिए । ‘ठिकै छ । कार्यदल छ, त्यसैलाई व्युँत्याउँदा भइहाल्छ । तपाईहरुले नै प्रस्ताव तयार पारेर ल्याउनुस् ’, नेता नेपालको जवाफ थियो ।


माधव पक्षका २३ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । ओली पक्षले ती सांसदको हस्ताक्षर फिर्ता गरेमात्रै एमाले एकता हुन सक्ने बताएका छन् । नेता नेपाललाई भेटेपछि ओली पक्षका नेता पुनः अध्यक्ष ओलीलाई भेट्न बालुवाटार गएका छन् । यसअघि अध्यक्ष ओलीले शनिबार बसेको बालुवाटार बैठकमा सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता नगरे कारवाही गर्ने चेतावनी दिएका थिए ।