२८ फाल्गुन २०८२, बिहीबार
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले प्रतिगमनविरुद्ध राष्ट्रियसभाको बैठकमा कालो टोपी उचालेर विरोध जनाएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले सडकमा कालो झण्डा लिएर उत्रने अवस्था नरहेको भन्दै राष्ट्रियसभाको बैठकमा नै कालो क्याप उचालेर प्रतिकात्मक रुपमा विरोध जनाएको बताए।
शीरदेखि पाउसम्म कालो पोशाकमा बैठकमा सहभागी भएका रायमाझीले मुलुकले थाहा पाओस् भन्दै सरकारको र प्रतिनिधिसभाको विघटनको विरोधमा आफूले कालो झण्डाको रुपमा क्याप प्रस्तुत गरेको बताए। उनले टाउकोमा लगाएको कालो क्याप उठाएर घुमाउँदै सभामा उपस्थिति सबैलाई देखाउँदै भने, ‘मैले सिम्बोलिक रुपमा यो सरकारको विरुद्धमा र प्रतिनिधिसभा विघटनको विरुद्धमा यो आवाज उठाइरहेको छु।’


राष्ट्रियसभा सदस्य रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता गुमाइसकेको आरोप लगाए। प्रधानमन्त्री ओली राजनीतिक, नैतिक लगायत सबै दृष्टिकोणबाट असफल भइसकेकाले असफल प्रधानमन्त्रीको रुपमा सावित भएको दाबी गरे। उनले आफैले पत्रकार सम्मेलन गरेर मैले सरकार चलाउन सकिनँ भन्ने प्रधानमन्त्री ओली अन्य दुई पार्टीको निर्णय भन्दै प्रधानमन्त्रीका लागि दाबी गर्न राष्ट्रपतिकोमा पुगेको दाबी गरे।