एमाले आन्तरिक विवाद मिलाउने कसरतमा, कार्यदल बैठक आज पनि

होमल्याण्ड खबर

२०७८ असार २२ गते, मंगलवार ११:०६ मा प्रकाशित

 फुटको संघारमा पुगेपछि पार्टी एकता जोगाउन गठन भएको नेकपा एमालेको कार्यदल बैठक आज पनि बस्दै छ । एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुनः ब्युँतिएको हो । कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम गर्न थालेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो । बैठकमा अहिलेसम्म भएका छलफलको पुनरावलोकन भएको नेताहरुले बताएका छन् ।

गत जेठ २ गते गठन भएको कार्यदलले ५० दिनपछि औपचारिक छलफल शुरु गरेको हो । कार्यदलको पहिलो दिनको बैठक सकारात्मक रहेको र आजको बैठकमा थप छलफल गरिने कार्यदलका सदस्यहरुले बताएका छन् । लामो समयपछि बसेको कार्यदलको बैठकले एमाले भित्र सहमतिका लागि आशावादी हुने संकेत दिएको बताए ।