२८ फाल्गुन २०८२, बिहीबार
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि बस्दैछ । पछिल्ला केही दिन यताको लगातारको बैठकमा छलफल ‘सकारात्मक’ भनिए पनि ठोस निष्कर्ष निस्किन सकेको छैन । कार्यदल सदस्यहरु विगत चार दिनदेखि निरन्तर छलफलमा जुटिरहेका छन् ।
अन्तिम निष्कर्ष निकाल्ने भन्दै सिंहदरबारमा बिहीबार (हिजो) कार्यदलको बैठक दुईपटक बसे पनि निष्कर्षविहीन बन्यो । पार्टी एकताका लागि गम्भीर छलफल भए पनि अझै कुनै सहमति हुन नसकेको कार्यदलकै सदस्यहरूले जनाएका छन् । नेता घनश्याम भुसालले भने,‘१० दिनअघि जुन एजेण्डा तयार गरेका थियौँ। गएको १० दिनदेखि खास काम गर्न सकेका छैनौँ । अब बस्ने बैठकबाट निष्कर्ष निस्कन्छ भन्नेमा विश्वास छ ।’


कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णुप्रसाद रिमाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट डा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, विष्ट र रघुजी पन्त रहेका छन् ।