प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्धाको फैसला आज हुने सम्भावना

होमल्याण्ड खबर

२०७८ असार २८ गते, सोमबार ०८:४४ मा प्रकाशित

प्रतिनिधि सभा विघटनबिरुद्ध परेको मुद्दाको फैसला आज हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गत जेठ ७ गते राती प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

उनले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरिन् । सो रात प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटन बिरुद्धको रिटमाथि असार ९ गतेबाट सुरु भएको सुनुवाई असार २१ गते सकिएको थियो । जेठ ११ गते प्रतिनिधि सभा विघटनको विरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवा सहितको ३० वटा रिट दर्ता भएको थियो ।

विपक्षी गठबन्धनका नेता देउवासहित १ सय ४६ जना सांसदले संसद पुनः स्थापना गरेर देउवालाई प्रधानमन्त्री घोषण गर्न माग गरेका छन् । चारवटा रिटमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै नियुक्त गर्नुपर्ने माग गरिएको छ ।

सरोकारवाला कांग्रेस सभापति देउवाको रिटमा सुनुवाई सकेर संवैधानिक इजलासले आज फैसला गर्न लागेको हो । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले मुद्धाको सुनुवाई गरेका थिए ।