स्थायी कमिटी बैठकमा सहभागी हुन भीम रावल बालुवाटार पुगे

होमल्याण्ड खबर

२०७८ असार २८ गते, सोमबार १७:४५ मा प्रकाशित

नेकपा एमालेका उपाध्यक्ष भीम रावल अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुन बालुवाटार गएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेता रावल विपक्षी गठबन्धनको बैठक बसिरहेका बेला बालुवाटार पुगेका हुन्।

एमाले विवाद समाधान कार्यदलमा रहेका नेपालनिकट अर्का नेता सुरेन्द्र पाण्डेले पनि आफू बालुवाटार बैठकमा जाने बताएका थिए।

नेकपा एमालेको कार्यदलले आइतबार राति एमाले मिलाउन दश बुँदे सहमति तयार पारेको थियो।

सर्वोच्चको फैसलापछि उक्त दश बुँदे सहमतिको कार्यान्वयन हुन्छ कि हुन्न भन्ने अन्यौल बढेका बेला नेपालका तर्फबाट कार्यदलका संयोजक रहेका नेता रावल बालुवाटार पुग्नुलाई चासोका साथ हेरिएको छ ।