विपक्षी गठबन्धनबाट बाहिरिए माधव नेपाल

होमल्याण्ड खबर

२०७८ असार २८ गते, सोमबार २०:१० मा प्रकाशित

प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वाेच्चकाे परमादेशसँगै नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी गठबन्धनबाट बाहिरिएका छन् ।

आज साँझ आफ्नाे निवासमा विपक्षी गठबन्धनकाे बैठक आह्वान गरेर उनी परिस्थित फेरिएकाे भन्दै गठबन्धनबाट बाहिरएका हुन् । एमाले एकताका लागि दुई पक्षबीच १० बुँदे सहमति समेत भएकाे र अदालतले ओलीलाई बहिर्गमन गरेकाे भन्दै उनले अब आफू गठबन्धनबाट बाहिरिने निर्णय गरेका हुन् ।

नेता नेपाल विपक्षी गठबन्धनबाट बाहिरिने निर्णयमा पुगेकाे एमाले नेता विश्वमिण सुवेदीले जानकारी दिए । उनले नेता नेपालकाे निर्देशानुसार आफूहरू विपक्षी गठबन्धनबाट बाहिरिएर एमालेकाे आन्तरिक एकीकरणामा केन्द्रित भएकाे जानकारी दिए । यद्यपि, आन्तरिक एकताकाे काम अझै टुंगाेमा नपुगेकाे उनले बताए ।

एमालेभित्र देखिएकाे विवाद अन्त्य गर्न केपी शर्मा ओली र नेता नेपाल कार्यदल बनाएर सहमितकाे मिलन बिन्दु खाेज्न सहमत भएका थिए । दुवै नेताकाे सहमतिमा दुवै पक्षबाट ५ /५ सदस्यीय कार्यदल बनाइएकाे थियाे । कार्यदलले शुक्रबार राति १० बुँदे सहमति गरेकाे थियाे ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस, नेकपा (माआवोवादी केन्द्र), एमालेको नेपालपक्ष, जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा संघर्ष गर्ने भन्दै विपक्षी गठबन्धन निर्माण गरेका थिए ।