एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

होमल्याण्ड खबर

२०७८ श्रावण ४ गते, सोमबार ०७:४६ मा प्रकाशित

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमाले एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिका आधारमा एमालेलाई २०७५ साल जेठ २ मा फर्काउने गरी केन्द्रीय कमिटीको बैठक बोलाइएको गुरुङले जानकारी दिए ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । बैठकमा विधान अधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ । विधान अधिवेशन यही साउन २५ देखि २७ गतेसम्म गर्ने तय भइसकेको छ ।

यसअघि आइतबार एमाले स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा नेता नेपाल समूह अनुपस्थित रहेको थियो । स्थायी कमिटी बैठकले संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

तर नेपाल समूहका २२ जना सांसदले देउवाको पक्षमा मतदान गरेका छन् भने १० जना तटस्थ बसेका थिए । यसअघि पार्टीको निर्देशन विपरीत मतदान गर्नेहरु सोही दिनदेखि एमाले नरहने निर्णय सुनाएको थियो ।

हिजो पार्टीको निर्देशन विपरीत मतदान गर्ने र तटस्थ बस्नेहरुमाथि एमालेले कस्तो निर्णय लिन्छ भन्ने दृष्टिकोणले पनि आजको केन्द्रीय कमिटी बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।