नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

होमल्याण्ड खबर

२०७८ श्रावण ५ गते, मंगलवार ०८:५४ मा प्रकाशित

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सोमबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

सोमबार बसेको बैठकले ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

उनीहरुलाई २४ घन्टाको स्पष्टिकरण सोध्ने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको थियो । तर, कोही पनि सांसदले यसबारे कुनै जवाफ दिएका छैनन् । एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले यो स्पष्टिकरणको कुनै जवाफ नदिने पनि बताएका छन् ।

आज बस्ने केन्द्रीय कमिटी बैठकमा यी नेताहरुमाथि पार्टीले कारवाही गर्ने सम्भावना रहेको छ । तर, उनीहरुलाई पार्टीले सांसद पदबाट बाहिर निकाल्न भने पाउने छैन । २८ असारमा संसद पुनस्र्थापन गर्न आदेश दिएको सर्वोच्च अदालतले देउवालाई विश्वासको मत दिएका सांसदलाई कुनै पनि पार्टीले कारवाही गर्न नपाउने फैसला पनि गरेको थियो ।