२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेको माधव समूह तत्काल सरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरे पनि माधव समूहले प्राविधिक कारणले सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ ।
मंगलबार बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले नेता माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । साथै उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा समेत छलफल भएको थियो ।


उनले एमाले एकताका विरुद्ध अध्यक्ष केपी ओलीले बार लगाएको भन्दै नेपाल समूहले नयाँ पार्टी बनाएर जानुपर्ने बाध्यता रहेको सुनाए । ‘पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्छौ, राखेकै हौ तर यसरी सधैँ चल्दैन, नयाँ पार्टी बनाएर जानुपर्छ’, पौडेलको भनाई छ । सर्वोच्च अदालतको फैसलापछि गत असार २९ गते प्रधानमन्त्री देउवाले माओवादीका दुई र आफ्नो पार्टीका दुई जना समेटेर ५ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए ।
साउन ३ गते संसदबाट विश्वासको मत प्राप्त गरेसँगै देउवामाथि मन्त्रिमण्डललाई पूर्णता दिनुपर्ने दबाब बढ्दो छ । माओवादी र काँग्रेसबाट मन्त्रीहरू बनाउन सहज भए पनि एमालेको माधव समूह र जसपा भित्र पार्टी विवाद कायमै रहेकाले उनीहरू तत्काल सरकारमा सहभागी हुनसक्ने अवस्था छैन ।
यद्यपि जसपाको उपेन्द्र यादव पक्षको विवाद केही दिनमै किनारा लाग्ने भएकाले जसपाको उपेन्द्र यादव पक्ष, माओवादी केन्द्र र काँग्रेसबाट मन्त्रीहरू पठाएर मन्त्रिमण्डललाई पूर्णता दिन एमाले नेता माधव नेपालले प्रधानमन्त्री देउवालाई सुझाव दिएको बुझिएको छ ।