एकताका लागि ओलीको फेरि अपिल : आममाफी भयो,आउनुस् एकजुट भएर जाऔं

होमल्याण्ड खबर

२०७८ श्रावण ७ गते, बिहीबार १६:२२ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै विद्रोह गरिरहेका असन्तुष्ट नेता माधव नेपाल पक्षलाई एकतावद्ध भएर आन्दोलन र पार्टी वचाएर जान फेरि पनि सार्वजनिक आह्रवान गरेका छन् । अन्य दिनका झै नेपालप्रति चर्काे आलोचना नगरी ओलीले वाटो विराएका, भडकिएकाहरुलाई मिलेर जान र आन्दोलन वचाएर जान अपिल गरेका हुन् ।

आफ्नै पार्टीको सरकार ढाल्ने र आन्दोलन माथी नै ठूलो धक्का लाग्ने काम पार्टीभित्रकै नेताहरुले गरेको भन्दै ओलीले तैपनि आन्दोलन र पार्टी वचाएर जान एकतावद्ध भएर जानअपिल गरेका हुन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गदै ओलीले त्यस्तो बताएका हुन् ।

‘को-काहा छन् भन्ने छोडेर पार्टीको कुरा गरौं । पुष्पलाल स्मृति दिवसको अवसरमा म वाटो विराएका, भडकिएका साथीहरुलाई पनि भन्छु –आउनुस् मिलेर काम गरौं, म आग्रह गर्छु । यस आन्दोलनलाई मजवुत पारौं । म आग्रह सवैलाई गर्छु– एकजुट भएर जाऔ. ।’ ओलीले भने,–‘यद्यपी यस आन्दोलनले ठूलो धक्का ब्यहोरेको छ, आफ्नै केहीका कारण । तै पनि एम्नेष्टि इज ग्रान्टेड । म भन्छु –आउनस फेरि एकजुट भएर जाऔं ।’

ओलीले नेपाल पक्षका नेताहरुको नाम उल्लेख नगरी एकताको आह्रवान गरेका हुन् । नेपाल पक्षका २२ सांसदलाई कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिएकोमा केन्द्रीय समिति बैठक राखेर २४ घण्टे स्पष्टिकरण सोधेका ओलीले आज अघिपछिका भन्दा नरम स्वरमा एकताको अपिल गरेका हुन् ।